सुवाष खुलाल क्षेत्री/बज्रबाराही/२० जेठ
देश लकडाउनले पुरै जस्तो ठप्प छ । सरकारले दोश्रो चरणको नयाँ भेरियन्टको कोभिड –१९ (कोरोना )बाट सुरक्षित रहन सम्पूर्ण देशबासीलाई अत्यावश्यक काम बाहेकका लागि घरभित्रै बस्नु भनेको छ । उसो त किराना पसल, औषधि पसलसंगै तरकारीको व्यापारलाई खासै रोकतोक गरेको छैन र खुल्ने समय पनि निर्धारण गरिएको छ । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु, संचारका बाध्यात्मक अवस्था बाहेक अरु सबै मानिसहरुलाई कोरोनाले घरभित्रै कैद गरिरहेको अवस्था छ । तर, उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानहरुलाई भने अर्कै चटारो छ, त्यो हो जेठको आलु खन्ने ।
किसानले पुस–माघमा रोपेको आलु जेठ महिनाको अन्तिमदेखि असारको पहिलो सातासम्ममा खन्नका लागि तयार हुन्छ । थाहा नगरपालिका मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित कृषि प्रधान नगरपालिका हो । यहाँका बहुसंख्यक जनता कृषिमा निर्भर छन् । उसो त, यस क्षेत्रलाई तरकारीको लागि ‘पकेट’ क्षेत्र नै मानिन्छ । चित्लाङ मुलाको लागि देशै भरि प्रसिद्ध छभने टिस्टुङ पालुङको आलुको पनि काठमाडौं, हेटौँडा, बिरगंज, नारायणघाट, बुटवल जस्ता ठूला सहरमा ‘टिस्टुङ–पालुङ्गे आलु’ भनेर प्रख्यात छ । त्यहि प्रख्यात टिस्टुङ–पालुङे आलु आ–आफ्नो घर भित्र्याउन व्यस्त देखिन्छन् यहाँका किसानहरु ।
हुन त यो क्षेत्रमा कोरोनाको असर नदेखिएको होइन । सयौँको संख्यामा कोरोना संक्रमित घरमै आइसोलेसनमा छन् भने कतिपय स्थानीय सरकारले उपलव्ध गराएको आइसोलेसनमा छन् । त्यसबाहेक कतिपय काठमाडौं, हेटौँडालगायतका अस्पतालामा उपचाररत छन् । केहिको मृत्यु समेत भैसकेको छ । तर कोरोनाको कहरको बाबजुद पनि आफूले मेहनत गरेको बाली भित्र्याउन यस क्षेत्रका किसानहरु तल्लिन छन् ।
किसानहरु अर्म–पर्म र ज्यालादारीको हिसाबले काम गर्ने गर्दछ्न । आफ्नो खेतमा १० जना खेतालाहरु लगाएर आलु खन्दै गरेको जितबहादुर खुलाललाई कोरोनाको यत्रो त्रासमा पनि किन यसरी अन्य घरको मानिस समेत बोलाएर काम गरेको भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, “के गर्नु त सरकारले घरमा थुन्न मात्र जानेको छ । भोकालाई भोजनको ब्यवस्था गर्न जानेको छैन । लगाएको बाली कुहाएर भोकले मर्नु भन्दा रोगले मर्नु जाती ।" ७० बर्षिय जीतबहादुरले आफ्नो दश रोपनी खेत र केही रोपनी बारीमा आलु लगाएका छन् । “लकडाउनले बरु आलुको भाउ पो के हुने हो ।“उहाँले चिन्ता ब्यक्त गर्नुभयो । ‘गत साल जस्तो भए त दुइ लाखको आलु बेचिन्थ्यो यसपाली त कोरोनाले चौपट पार्ला जस्तो छ ।’
उता भटुवालका किसान सिताराम सिंह ठकुरीले पनि आफ्नो बारीमा लगाएको आलु भर्खरै खनेर सिध्याए । “अचेल खेतालाको अभाव छ । सात दिन लगाएर आलु त खनिसकियो । अहिले भाउ खासै राम्रो छैन । केही समय स्टोर गरेर राख्न पर्ला, कतै लकडाउन खुलेर भाउमा बृद्धि हुन्छ कि’ उहाँले अड्कल काट्नु भयो ।
यसो त अहिले नगरको सबै जसो फाँटमा आलु खन्न भ्याई नभ्याई नै छ । केहिले खनिसके भने केहिले खन्दैछन् । आलुको यो चटारोपछि लगत्तै किसानहरु धान रोप्न र अन्य तरकारी लगाउन व्यस्त हुन्छन् ।
थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।
-
2 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments