Byroad News

Loading...

बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने


बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने

काठमाडौं/२५ जेठ 
विदेशबाट नेपाल आउने यात्रुले दुई पटक पीसीआर गर्न र होटलमा क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ । सो बापत लाग्ने सबै खर्च पनि यात्रु स्वयंले नै तिर्न पर्ने गरि नयाँ मापदण्ड बनाइएको छ ।

हप्तामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने मन्त्रिपरिषद् बैठकको जेठ १३ गतेको निर्णयअनुसार  ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो । सरकारले तोकेको क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापदण्डलाई समेटिएको छ । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।

नयाँ मापदण्डअनुसार हवाईमार्गबाट नेपाल आउन सम्बन्धित विदेशी र नेपाली यात्रुले फोटो र बारकोड/क्यूआरकोडसहितको नेगेटिभ पीसीआर रिपोर्ट, १० दिन क्वारेन्टाइनमा बस्न होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्रै विदेशबाट नेपाल आउन अनुमति दिइनेछ । मापदण्डअनुसार नेपाल आउने यात्रुले १० दिन होटल/क्वारेन्टाइनमा बस्दाको सबै खर्च आफैं व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा बसेको ४ दिन र एघारौं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । खाडी मुलुक र मलेसियाबाट आएका नेपाली श्रमिकको हकमा भने ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर नेगेटिभ आएपछि गन्तव्यमा जान दिइनेछ । गन्तव्यमा जानुअघिको क्वारेन्टाइनमा बस्दाको खर्च पनि सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने व्यवस्था मापदण्डमा छ । सरकारी कामका सिलसिलामा विदेश गएर फर्किएका सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि पीसीआर परीक्षण र शुल्क आफैं व्यहोर्नुपर्नेछ । काजकिरियाका लागि आएका, दीर्घरोगी, शारीरिक अशक्त र बिरामीसँगै आएका हेरालु/सहयोगी/कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका नाबालकसँगै आएका आमा/बाबुलाई भने स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी गन्तव्यमा जान दिइनेछ । काजकिरियामा आउनेले ११ दिन र अन्यले ४ र ११ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ । त्यसको अनुगमन स्थानीय तहबाट गरिने व्यवस्था मिलाइएको छ । 

Comments

KATHMANDU WEATHER