Byroad News

Loading...

अष्ट्रेलियाको भनी झुक्याएर नवलपरासीको बाख्रा वितरण


अष्ट्रेलियाको भनी झुक्याएर नवलपरासीको बाख्रा वितरण

मोरङ/२५ जेठ 
मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो ।

अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताउनु भयो । शाहका अनुसार आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएका थिए । सप्लायर्सले बाख्रा ल्याएको कागजात अझै नगरपालिकामा बुझाएको छैन । कागजात नबुझाएपछि नगरपालिकाले भुक्तानी रोकेको छ । 

नगरपालिकाका स्रोतका अनुसार सप्लायर्सले नवलपरासीका किसानले पालेका बोयर क्रस बोका र पाठी एउटा निजी फर्ममा भेला पारेर ल्याएका थिए ।

यसैबीच, किसानले विरोध गरेपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनु भयो ।

नगरपालिकाबाट भुक्तानी नपाएपछि सप्लायर्स कम्पनीका श्याम पाण्डेले बाख्रा नै फिर्ता मागेको छ । तर, किसानलाई वितरण गरिसकेकाले बाख्रा फिर्ता गराउन नसक्ने नगरपालिकाको जवाफ छ ।

Comments

KATHMANDU WEATHER