Byroad News

Loading...

मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्रीलाई सकस


मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्रीलाई सकस

काठमाडौं/२५ जेठ 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन गृहकार्य अगाडि बढाउनु भएको छ । बालुवाटार स्रोतका अनुसार बुधबार वा बिहीबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।

शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेकै अर्का समूह (माधवकुमार नेपाल) लाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफैसँग राख्नु भएको थियो । पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सार्नु भएको थियो तर, नेपाल समूहले दुराशयक्त भन्दै ओलीको सहमति प्रस्तावलाई अस्वीकार गरेको छ । अन्तिम प्रयास गर्दा पनि नेपाल समूह एकताका लागि तयार नभएपछी मन्त्रिपरिषदलाई पूर्णता दिनेतर्फ प्रधानमन्त्री अघि बढेको स्रोत बताउँछ । 

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार माधव नेपाल समूहसँग एकताको सम्भावना न्यून भएको निष्कर्षसहित मन्त्रिपरिषद् पूर्णता दिनेतर्फ प्रधानमन्त्री ओली अगाडि बढ्नु भएको छ । तर, प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पूर्णता दिन सजिलो भने भइरहेको छैन ।

जसपाका दश जना समेट्दै १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्री ओलीले अब आठ जना मात्रै थप गर्न पाउनुहुनेछ । प्रधानमन्त्रीसँग रक्षा र गृहसहित ७ मन्त्रालय छ ।

स्रोतका अनुसार, गृहसहित सातै मन्त्रालय पूर्वमाओवादीले पाउनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको छ । तर प्रधानमन्त्री ओलीले भने दुईदेखि तीन जनालाई मात्र समेट्ने बताउनु भएको स्रोतको दाबी छ । बदलिदो राजनीतिक समीकरणका कारण २० सांसद रहेको जसपाका ठाकुर पक्षलाई १० मन्त्री दिनुपरेकाले पनि प्रधानमन्त्रीलाई मिलाउन सजिलो भइरहेको छैन ।

झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरुलाई छोडेर आफ्नो समूहमा आएकाहरुलाई मन्त्री बनाउने प्रतिबद्धता तोड्न पनि प्रधानमन्त्री ओलीलाई सजिलो छैन । गुट फेरेर आउनु भएकामध्ये रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नु भएको छभने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभयो ।

त्यसैले बाँकी सात मन्त्रालयका निम्ति आठ जनाको नियुक्ति प्रम ओलीलाई सकस भएको छ । माधव नेपाल समूहसँग कुरा मिलेमा गृह वा अर्थसहित केही मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी थियो । नेपाल समूहमा रहेर पार्टी एकताका लागि वार्तारत सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायत नेता ओलीको रोजाइमा हुनुहुन्थ्यो तर, तत्काल यो सम्भावना टरेको बालुवाटार निकट स्रोतहरु बताउँछन् ।

अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरूबाटै मन्त्री चयन गर्नु हुनेछ । तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलपछि रघुवीर महासेठ दोस्रो वरियताको उपप्रधानमन्त्री बनिसक्नु भएकाले कनिष्ठ नेतालाई मन्त्री बनाउने गृहकार्य भइरहेको छ ।

त्यसमध्ये गृह मन्त्रालयमा धेरै नेताको चासो छ । प्रधानमन्त्री ओलीलाई दबाव पनि यही मन्त्री चयनमा देखिएको छ । ओलीलाई यो तहको राजनीतिक उचाइ दिलाउन साथ दिने नेताहरूले गृहमा दाबी गरेको स्रोतको भनाइ छ । त्यसमध्ये पनि जसपा विभाजन गराउँदै सरकारमा सहभागी गराउनेसम्मको राजनीतिक कोर्समा देखिने गरी संलग्न भएका पूर्वमन्त्री महेश बस्नेतको बलियो दावी छ ।

उहाँप्रति ओली पनि सकारात्मक रहेको बताइन्छ । बस्नेत २०७१ मा उद्योगमन्त्री हुनुहुन्थ्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित हुनुभएका बस्नेत २०७४ मा भने भक्तपुर–२ बाट निर्वाचित हुनुभयो ।

बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौड रहेको बताईन्छ । अधिकारी गण्डकी प्रदेश र थापा सुदूरपश्चिमका हुनुहुन्छ । अहिलेको मन्त्रिपरिषदमा प्रदेश–२ बाट एघार जना मन्त्री रहेकाले भौगोलिक सन्तुलन कायम गर्न बस्नेत नभएर अधिकारी वा थापा मन्त्री बन्नुपर्ने लविङ ओली समूहमा भइरहेको छ । अधिकारी र थापा दुवै ओलीलाई साथ दिँदै आउनु भएका नेता हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीलाई लगातार साथ दिँदै आउनु भएका नेताहरु विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत मन्त्री बन्ने दौडमा हुनुहुन्छ ।

कतिपयलाई प्रधानमन्त्री ओली आफैंले वचन दिनु भएको र  कतिपयमा भने लगातार साथ दिएकाले मन्त्री बनाउने पर्ने मत छ ।

अहिले गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, संघीय ममिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय रिक्त छ । आफू निकट नेताहरुको दाबीमा भौगोलिक, जातीय, लैंगिक सन्तुलन समेत मिलाउनुपर्ने दबाव प्रधानमन्त्रीमाथि छ । अहिलेको मन्त्रिपरिषदमा एक जना पनि दलित समुदायका परेका छैनन् ।

Comments

KATHMANDU WEATHER