Byroad News

Loading...

थाहानगरको वजेट बन्दै, असार ५ भित्र योजना पठाउनु पर्ने

नयाँ सडकको ट्राकका लागि कुनै खर्च नगर्नु

थाहानगरको वजेट बन्दै, असार ५ भित्र योजना पठाउनु पर्ने

सुरेन्द्रमान प्रधान/२७ जेठ
थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि योजना छनौट गरी पठाउन निर्देशन दिएको छ । २६ जेठमा बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वडा भेला गरी असार ५ गतेभित्र योजना पठाउन निर्देशन गरिएको प्रमुख कार्यकारी अधिकृत हरिलाल पुरीले बताउनु भयो । 

कार्यपालिका बैठकले प्रत्येक वडालाई चालु खर्चतर्फ ४ लाख रुपियाँ, वडा वजेट अन्र्तगत (पुँजीगत) तर्फ वडा नं. १, २, ३, ४, ६, ९ र १० लाई एक/एक करोड, वडा नं. ५ लाई १ करोड १० लाख र वडा नं. ७, ८, ११ र १२ लाई १ करोड २० लाख रुपियाँका दरले बजेट सिलिङ तोकिएको छ । यसैगरी, सबै वडाहरुमा मर्मत संभार (पुँजीगत) तर्फ ७ लाख रुपियाँका दरले सिलिङ निर्धारण गरिएको प्रमुख कार्यकारी अधिकृत पुरीले बताउनु भयो । यसरी सबै वडाहरुलाई कुल बजेट सिसिङ १४ करोड २२ लाख रुपियाँ रहेको छ । 


बजेट सिलिङअन्तर्गत सडकको नयाँ ट्राक खोल्न कुनै पनि वजेट विनियोजन नगर्न निर्देशन दिँदै वडाबाट वजेट विनियोजनका लागि ८ बुँदे मार्गदर्शनहरु समेत पठाइएको छ । मार्गदर्शन अनुसार वडा नं. ५, ७, ८, ११ र १२ मा एउटै योजना कम्तिमा २० लाख रुपियाँसम्मको र अन्य वडामा एउटै योजना २५ लाख रुपियाँसम्मको हुनै पर्नेछ । 
वडा नं. ५, ७, ८, ११ र १२ मा कम्तिमा ५ लाख रुपियाँ र अन्य वडाहरुमा कम्तिमा ७ लाख रुपियाँका योजनाहरु बनाउनु पर्ने मार्गदर्शन दिइएको छ । यसैगरी, सामुदायिक विद्यालयहरुमा कार्यरत निजी स्रोतका शिक्षकहरुको तलब नगरपालिकाबाटै विनियोजन गरिने हुँदा वडाबाट सो शीर्षकमा कुनै वजेट नछुट्याउन भनिएको छ ।

यसैगरी, संघीय तथा प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानमा सडक निर्माणतर्फ वजेट परेको भए सो योजनाका लागि म्याचिङ फण्डबाट ४० लाख रुपियाँसम्म विनियोजन गर्न मार्गदर्शन गरिएको छ । २६ जेठमै दिइएको मार्गदर्शनमा वडाले कृषि, शिक्षा, स्वास्थ्यमा प्राथमिकताका आधारमा विनियोजन गर्न सकिनेछ । साथै, कोभिड—१९ र स्वास्थ्य सामाग्री, ल्याव तथा स्वास्थ्य संस्था संचालनमा वडाले प्राथमिकताका साथ वजेट विनियोजन गर्न सकिनेछ ।  

Comments

KATHMANDU WEATHER