Byroad News

Loading...

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, अब कसरी छानिन्छन् नयाँ मूख्यमन्त्री?


गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, अब कसरी छानिन्छन् नयाँ मूख्यमन्त्री?

पोखरा/२७ जेठ 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनु भएको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त हुनु भएका गुरुङले आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्नु भएको थियो । तर उहाँको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाउनु भयो ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नुभयो । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

अब धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नुहुनेछ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहनु भएका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आउनु भएको छ ।

यदि उहाँले साथ दिनु भएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।

धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

Comments

KATHMANDU WEATHER