सुर्खेत/२९ जेठ
जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाको विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित प्रसारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेको छ ।
राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरु हटाउन अदालतले आदेश दिएको हो । यस्ता सामग्रीहरु राख्नेलाई कारबाहीको साथै आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिइएको छ ।
अदालतले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामाग्रीहरु हटाउन ध्यानाकर्षण गराउनको लागि आदेश जारी गरेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामाग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु ।’
यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरु प्रसारण प्रकाशन गर्ने साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ भने प्रहरीलाई पीडित युवतीको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।
न्यायाधीश डा. आचार्यको आदेशमा राउटे युवतीका विषयमा सामग्रीहरु प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन भनिएको छ ।
यस्तै आदेशमा युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments