हेटौंडा/३० जेठ
बागमती प्रदेशको बजेट आउँदो असार १ गते हुने तय भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३:०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने बजेटमा १३ जिल्लामा कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भएको छ । उहाँले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गर्नु भयो । उहाँले प्रदेशमा कोभिड–१९ सङ्क्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनु भयो ।
उहाँले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास र आवश्यकता अनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गर्नु भयो ।
उहाँले आगामी आर्थिक वर्षको वैशाखसम्ममा काठमाडौं उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी ६ महिनाभित्रै ३० विद्युतीय बस खरिद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकेको तथा आगामी असार ७ गतेभित्रै बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रकृया सुरु गरिसकिएको जानकारी दिनुभयो । मन्त्री ढुङ्गेलले अघिल्लो आ.व. २०७७/०७८ मा करिव ५२ अर्ब रुपियाँको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करिव ५४ अर्ब रुपियाँको बजेट ल्याइने सम्भावना रहेको बताउनु भयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments