काठमाडौँ/३१ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविकको अमलेखगञ्ज गाविस हाल जीतपुर सिमरा उपमहानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७०/०७१ र २०७१/७२ मा गाविसमा सञ्चालित योजनाहरूमा वास्तविक खर्च भन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै आयोगले विशेष अदालत काठमाडौँमा झाविरुद्ध पौने तीन लाखको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
झाले आयव्यय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमानी ढङ्गले गाउँ परिषद् गरेको, योजना उपभोक्ता समिति गठन नगरी किर्ते बिल बनाई सहिछाप गरी रकम निकासी गरी भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो ।
आयोगले अनुसन्धान गर्दा झाले कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा एक लाख ३४ हजार दुई सय पैँतिस रुपियाँ बढी भुक्तानी गरेको देखिएको छ ।
यसै गरी सोही गाविसमा लक्षित वर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखा परीक्षण प्रतिवेदनअनुसार निकासा भएको देखिएको दुई लाख ९१ हजार खर्च गरेको देखिएतापनि सो खर्चमध्ये एक लाख ४७ हजार पाँच सय रुपियाँको बिल भर्पाई पेस गरेको नदेखिएको आयोगको दाबी छ ।
झाले गाविसमा सञ्चालित योजनाहरूमा मढी मूल्याङ्कन गराई बदनियतपूर्ण ढङ्गले दुई लाख ८१ हजार सात सय ३५ रुपियाँ वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको आयोगले जनाएको छ ।
झालाई प्रमाण पुष्टि हुन आएको दुई लाख ८१ हजार सात सय ३५ रुपियाँ २९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ अनुसार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments