Byroad News

Loading...

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने


एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने

काठमाडौं/३१ जेठ 
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ ।

असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डले जनाएको छ । 

विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि हिजो (आइतबार) पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको छ ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ। असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको हो।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।

Comments

KATHMANDU WEATHER