Byroad News

Loading...

सिन्धुपाल्चोकको बाढीमा कम्तिमा चार जना बेपत्ता, देशका विभिन्न स्थानमा सतर्कता अपनाउन आग्रह


सिन्धुपाल्चोकको बाढीमा कम्तिमा चार जना बेपत्ता, देशका विभिन्न स्थानमा सतर्कता अपनाउन आग्रह

काठमाडौं/२ असार
सिन्धुपाल्चोकको हेलम्बुमा हिजो (मंगलबार) साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको हुन सक्ने बताएको छ । 

प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।

अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भैरहेको छ ।

मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ ।

राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।

यस्तै नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पनि बाढीले खतराको तह पार गरेकोले बुधबार मध्याह्नसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको कारण नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा र थोरै स्थान अति भारी वर्षा हुने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी आग्रह गरेको छ ।

Comments

KATHMANDU WEATHER