Byroad News

Loading...

श्रमिकको बढेको न्यूनतम तलवमान होटलमा लागू गर्न नसक्ने


श्रमिकको बढेको न्यूनतम तलवमान होटलमा लागू गर्न नसक्ने

काठमाडौं/२ असार
होटल व्यवसायीले श्रमिकको वृद्धि भएको न्यूनतम तलव होटल प्रतिष्ठानमा तत्कालका लागि लागू नगर्ने बताएका छन् । कोरोनाबाट अतिप्रभावित उद्योगका रुपमा रहेको होटलहरु आफै संकटमा रहेको भन्दै व्यवसायीले नेपाल राजपत्रमा प्रकाशित श्रमिकको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नभएको बताएका हुन् ।

होटल संघ नेपाल (हान)का अध्यक्ष सृजना राणा र प्रथम उपाध्यक्ष विनायक शाहले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवसँग भेट्दै यस्तो जानकारी गराउनु भएको हो । भेटमा व्यवसायी नेताहरुले कोरोनाबाट अतिप्रभावित होटल उद्योगलाई सुविधा तथा सहुलियत दिन माग गर्नु भएको छ ।

उक्त अवसरमा अध्यक्ष राणाले कोभिड-१९ को कारण नराम्रोसँग थला परेको पर्यटन विशेष गरी होटल उद्योग यो अवस्थामा निर्धारण गरेको कानून तथा नीति नियमअनुसार सञ्चालन गर्न नसकिने हुँदा नीति, नियम तथा कानूनमा जे जस्तो व्यवस्था रहेता पनि संक्रमणकालीन व्यवस्था अनुरुप होटल उद्योगलाई बचाई राख्न आग्रह गर्नु भएको छ ।

उनले होटल उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अहिले तलबमान वृद्धि नगर्न विभिन्न वैठकहरुमा सुझाव राखेको स्मरण गराउँदै तलबमान वृद्धिमा होटल उद्योगलाई एउटै समूहमा नराख्न आग्रह गर्नु भएको हो । 

तोकिएको तलबमान समेत भुक्तान गर्न नसकिएको यो समयमा होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भएअनुसार हस्ताक्षरकर्ता ट्रेड युनियनहरुबीच समेत छलफल भई मान्य भइसकेको अवस्था रहेको स्मरण समेत गराइएको छ ।

श्रमिकसँगको सम्झौतामा होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको हुँदा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्था गर्न समेत व्यवसायी नेताहरुले माग गर्नु भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जेठ र असार महिनाको सामाजिक सुरक्षा कोषमा हुने योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भएको छ । तर, वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति बनाउन अध्यक्ष राणाले आग्रह गर्नु भएको छ । 

Comments

KATHMANDU WEATHER