काठमाडौं/३ असार
कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।
यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई , जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारभन्दा यात्रु नबढ्ने गरी हवाई उडान सञ्चालन हुने सीसीएमसी निर्देशक समिति सचिवालयले जनाएको छ ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।
यसै गरी गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोगस्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनु भएको छ ।
कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य पक्ष खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र ती खोप आगामी साउनदेखि लगाउन थालिने बताउनु भयो ।
कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउनु हुँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिनु भएको आजको कान्तिपुरले खबर लेखेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments