काठमाडौं/५ असार
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत देखाउनु भएको छ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्नु भएको हो । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताउनु भएको हो ।
‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’
साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय सदस्यलाई उदृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ । ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नुभयो,’ ती नेताले भन्नुभयो ।
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी हुनुहुन्थ्यो । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राख्नु भएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments