Byroad News

Loading...

माओबादीमा ९९ जना केन्द्रीय सदस्य थप गर्दै, ४० वर्षमुनिकालाई प्राथमिकता


माओबादीमा ९९ जना केन्द्रीय सदस्य थप गर्दै, ४० वर्षमुनिकालाई प्राथमिकता

काठमाडौं/७ असार
नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्दै छ । स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ ।

पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

नयाँ थपिने सदस्यहरूमा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ थपिने केन्द्रीय सदस्यमा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको बताइएको छ ।

केन्द्रीय समितिमा ककसलाई थप्ने भनी पार्टीको तल्लो तहबाटै सुझाव सङ्कलन भइरहेको छ । केन्द्रीय समिति टुङ्गो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुङ्गो लाग्नेछ ।

सर्वोच्चले नेकपाको पार्टी एकता भङ्ग गरिदिएपछि माओवादी केन्द्र हाल नयाँ सङ्गठन निर्माणको तयारीमा जुटेको छ ।

पूर्वमाओवादी नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशङ्कर चौधरी लगायतका नेताहरू एमाले प्रवेश गर्नु भएको छ । उहाँहरूको स्थान पनि रिक्त भएको छ ।

सर्वोच्चले २०७७ फागुन २३ मा एकता बदर गरिदिएको थियो । गत चैतमा बसेको माओवादीको केन्द्रीय समिति बैठकमा १ सय ८५ जना उपस्थिति थियो । सो बैठकमा १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरूको मृत्यु भएको बताइएको छ ।

Comments

KATHMANDU WEATHER