Byroad News

Loading...

रुपचन्द्रको बाटो पछ्याऔं- मेयर विष्ट


रुपचन्द्रको बाटो पछ्याऔं- मेयर विष्ट

थाहानगर/७ असार
आज असार ७ गते, थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २२ औं स्मृति दिवश । थाहा नगरपालिकाको आयोजनामा शिखरकोटको विकास घर परिसरमा रहेको सालिकमा माल्यार्पण गरि मनाइएको छ ।

कोरोनाको कारण पूर्ण तयारी समेत नगरी आयोजित कार्यक्रममा थाहानगरका प्रमुख लवशेर विष्टले रुपचन्द्र विष्टले देखाएको बाटो पछ्याइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, 'रुपचन्द्र विष्टले समाज बदल्ने अभियानमा हिड्दा परिवारको सुख र भविष्यको चिन्ता समेत गरेनन् तर हामी रुपचन्द्र विष्ट बन्न सकेनौं तर, पछ्याउन छोड्दैनौ ।' विष्टले सबैले आफु भएका ठाउँमा मात्रै पनि पारदर्शिता कायम गर्न सके रुपचन्द्रको बाटो पछ्याएको प्रमाणित हुने बताउनु भयो । उहाँले भन्नुभयो, 'हामीले वार्षिक १५ लाख रुपियाँ भत्ताका लागि छुट्याइएको बजेट पनि विकास निर्माणमा खर्चिरहेका छौँ । यो पनि रुपचन्द्रले देखाएको एउटा बाटो हो ।'

रुपचन्द्रसङ्ग नजिकबाट सङ्गत गर्नु भएका ज्योती रायमाझीले जनप्रतिनिधिहरु लक्षित गर्दै रोष व्यक्त गर्नु भयो । उहाँले अहिले विकासका कामहरुमा प्रत्यक्ष रुपले जनता जोडिन नसकेकोले आर्थिक पारदर्शिता हुन नसकेको टिप्पणी गर्नु भयो । उहाँले अहिले आफ्नो चिन्ता मात्र गर्ने नेताहरु भएकाले रुपचन्द्रको सपना अधुरै रहेको टिप्पणी गर्नुभयो । स्व. विष्टको नाम दुरुपयोग भैरहेको प्रति लक्षित गर्दै रायमाझीले भन्नुभयो, 'चुनाव नजिक आउँदैछ, फेरि चलचित्र बनाउने काम नहोस् ।'

कार्यक्रममा थाहा नगरपालिका ३ नम्बर वडाध्यक्ष राजेश केसीले विष्टको बाटोमा हिड्न नसकेकोमा दु:ख व्यक्त गर्दै केन्द्रीय नेतृत्व नै जनता प्रति बफादार हुन नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो ।

कार्यक्रमको अवसरमा थाहानगरका उपप्रमुख खड्ग गोपाली, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, फरक सोच अभियान्ता यादव जङ्ग रायमाझीले स्व. विष्टले देखाएका सपनाहरु पूरा गर्न सबै जागरुक हुनु पर्ने विचार व्यक्त गर्नुभयो । 

विष्ट वि.स. १९९० साल पौष २६ गते बुबा पदमबहादुर विष्ट र आमा चित्रकुमारी विष्टको कोखबाट मकवानपुरको तत्कालीन शिखरकोट गाउँ पञ्चायत घर्तिखोलामा जन्मेर २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो ।

Comments

KATHMANDU WEATHER