Byroad News

Loading...

आजबाट मकवानपुरमा के के कुन कुन समयमा खोल्न पाइने निषेधाज्ञामा? (हेर्नुहोस विस्तृत विवरण सहित ।)


आजबाट मकवानपुरमा के के कुन कुन समयमा खोल्न पाइने निषेधाज्ञामा? (हेर्नुहोस विस्तृत विवरण सहित ।)

सुरेन्द्रमान प्रधान/८ असार

बैशाख १६ गतेदेखि जारी हुँदै थपिदै आएको मकवानपुरको निषेधाज्ञा आजबाट फेरि एक हप्ता थप गरिएको छ । अस्ति (आइतबार) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले संक्रमणको जोखिम निर्मुल नै नभईसकेको समिक्षा गर्दै असार १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर, यो पटक थप गरिएको निषेधाज्ञा यस वर्षकै सबैभन्दा खुकुलो बनाइएको छ । 

संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड -१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञामा अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने समेत उल्लेख छ ।

औषधि पसल, कृषि बीउबीजन तथा मल विकी वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने, अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने । तर , हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार पूर्णरूपमा बन्द रहने जारी सूचनामा उल्लेख छ ।

यसैगरि, पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरु, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विकीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म मात्र सञ्चालन गर्न पाउने उल्लेख छ । तर, फुटपाथमा पसल राख्न नपाउने जनाएको छ ।

रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म खोल्न पाइने, पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरेर मात्र व्यवसाय संचालन गर्नु पर्ने उल्लेख छ । यी बाहेक अन्य सबै व्यवसायहरु हाललाई बन्द रहने सूचनामा उल्लेख छ । 

निषेधाज्ञामा यातायात सञ्चालन सन्दर्भमा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने उल्लेख छ ।

निजी यात्रुबाहक सवारी साधनहरू (मोटरसाइकल समेत) र मयुरी, अटो, ट्याम्पो (दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी) गते अनुसार जोड बिजोड प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भनिएको छ । 

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटोसहितको परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन र आवतजावत गर्न दिइनेछ । 

अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू मकवानपुरमा नरोकिने गरी आवत जावत गर्न पाइने, औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १० बजेदेखि दिनको ४ बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने छ ।

अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने, । बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तीय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन गरिएको छ । 

वित्तीय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने/गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने, होटल लज, शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा , गोष्ठी , तालिम , सेमिनार , प्रदर्शन , भेला तथा सम्मेलन , सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ मल, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने सूचनामा भनिएको छ ।

यसैगरी, मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्न निर्देशन दिइएको छ । धार्मिक, सांस्कृतिक र सामाजिकलगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न पनि बन्देज गरिएको छ । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने गरि खुकुलो बनाइएको छ ।

विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिनेछ । यसैगरी, औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदुर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी/गराई उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग सञ्चालन गर्न सक्ने सूचनामा उल्लेख छ ।

विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजना स्थल वा निर्माण स्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी/गराई निर्माण कार्य सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।

Comments

KATHMANDU WEATHER