Byroad News

Loading...

विद्यालय कर्मचारीहरु तलब बढाउन माग गर्दै मेयरलाई बुझाए ज्ञापन पत्र


विद्यालय कर्मचारीहरु तलब बढाउन माग गर्दै मेयरलाई बुझाए ज्ञापन पत्र

थाहानगर/९ असार

नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीले विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब बढाउन माग गर्दै थाहा नगरपालिकाका मेयर लवशेर विष्टलाई ज्ञापन पत्र बुझाएको छ ।

नगर अध्यक्ष मधुसूदन रायामाझीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउदै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलबमानमा परेको असमान व्यवस्थाको अन्त्य हुनु पर्ने ध्यानाकर्षण समेत गराइएको छ ।

ज्ञापन पत्रमा "थाहा नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल/कार्यालय सहयोगी)हरुको मासिक तलब नेपाल सरकारको दर्जा तथा तह अनुसार नभएको हुँदा हामी दुःख व्यक्त गर्दछौं ।" ज्ञापन पत्रमा भनिएको छ ।

आ.व. २०७४/०७५ को बजेटबाट विद्यालयमा कार्यरत सबै तहका कर्मचारीहरुको मासिक तलब १५ हजार गरिएको प्रति ध्यानाकर्षण भएको जनाउदै लामो समय सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको न्यून तलवका कारण नैराश्यता बढेको गुनासो गरिएको छ ।

गत आ.व.मा बाल कक्षाका शिक्षकहरुका लागि मासिक २ हजार वृद्धि गरेकोमा खुसी व्यक्त गर्दै सोही रकम कर्मचारीहरुको मासिक तलवमा सम्बोधन नहुनु दुःखको कुरा भएको उल्लेख गरेको छ ।

ज्ञापन पत्रमा स्थानीय स्रोतबाट व्यवस्थापन हुने गरी कक्षा १० तथा कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा कार्यरत लेखापालहरुको छुट्टाछुट्टै दरवन्दी कायम गरी सोहीअनुसार तलबको व्यवस्थापन गर्नु पर्ने, कक्षा १० तथा कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा कम्तिमा दुई जना कार्यालय सहयोगीको व्यवस्था गर्नु पर्ने, कार्यालय सहयोगीहरुलाई नेपाल सरकारमार्फत् जारी बजेट अनुरुप १५ हजारबाट नघटाई तलब व्यवस्था गर्नु पर्ने, हालसम्म पनि विद्यालय कर्मचारीहरुले सरकारद्वारा घोषित महङ्गी भत्ता नपाएको गुनासो गर्दै आउँदो आ.व.देखि सो सम्बोधन गर्न ध्यानाकर्षण गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर विष्टले नगरपालिकाले विद्यालयमा कार्यरत कर्माचारीहरुको समस्याहरुलाई सकेको सम्बोधन गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।                            नगरका मेयर विष्टलाई बुझाएको ज्ञापनपत्र । 

Comments

KATHMANDU WEATHER