Byroad News

Loading...

आइतबारदेखि मालपोत र नापीको सेवा सुचारु हुने

जिल्लाका सबै सरकारी कार्यालय पनि खुल्दै

आइतबारदेखि मालपोत र नापीको सेवा सुचारु हुने

थाहानगर/११ असार
कोरोना संक्रमण दर बढेसँगै बैशाखदेखि सेवा बन्द गरिएको थाहानगरको मालपोत र नापी कार्यालयले असार १३ गते आइतबारदेखि आंशिक सेवासहित कार्यालय सुचारु गरिने भएको छ ।
मालपोत कार्यालयका प्रमुख मधु लम्सालका अनुसार अर्को सूचना नहुञ्जेल भीडभाडलाई न्यूनिकरण गर्दै कार्यालय सुचारु गरिन लागेको हो । स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गर्ने गरी बैंक तथा वित्तीय संस्थाहरुसँग सम्बन्धित सेवा प्रवाह गरिने कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । 

लम्सालका अनुसार हाल रोक्का, दृष्टिबन्धक, धितो बन्धक, फुकुवाको मात्रै काम हुनेछ । आइतबार, मंगलबार र बिहीबार थाहानगरको साविक चित्लाङ गाविस र इन्द्रसरोवर गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । यसैगरी, थाहानगरको चित्लाङ बाहेक अन्य वडा र साविक गोगने र डाँडाखर्क गाविसका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । 

यसैगरी, नापी कार्यालयले पनि मालपोत कार्यालयसँग सम्बन्धित सेवाहरु आइतबारदेखि नै सेवा सुचारु गर्ने जनाएको छ । 

मकवानपुर जिल्लाका अन्य सबै सरकारी कार्यालयहरु पनि आइतबारदेखि सुचारु हुनेछ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनु भयो । 

एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ ।

प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न  भनिएको छ  ।

Comments

KATHMANDU WEATHER