Byroad News

Loading...

सरुवा बढुवाका लागि नआउन गृहमन्त्रीको आग्रह


सरुवा बढुवाका लागि नआउन गृहमन्त्रीको आग्रह

काठमाडौं/११ असार
उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउनु भएको छ ।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनु भएको हो । 
उहाँले आ—आफ्नो पदीय जिम्मेवारी पूरा गर्न सबै स्वतन्त्र रहेको बताउनु हुँदै सुरक्षा निकायका प्रमुखलाई आफूले कुनै प्रकारको हस्ताक्षेप नगर्ने बताउनु भयो । 

आफूलाई नतिजा चाहिने भन्दै उहाँले जवाफदेही भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन समेत दिनुभयो । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उहाँले भन्नुभयो, ‘नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

उहाँले भन्नुभयो, ‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौं, त्यस ढंगले गर्नेछौं । त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ ।’

पौडेलले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि निर्देशन दिनु भएको छ । 

Comments

KATHMANDU WEATHER