काठमाडौं/१२ असार
गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको बताउनु भएको छ । उहाँले निर्वाचन अगाडि सबै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत दावी गर्नु भयो ।
रुपन्देहीको बुटवलमा आज (शनिबार) कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गर्नु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनु भयो ।
२०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोचलाई सुरुमा कतिपयले विश्वास नगरी चुनावी प्रचार जस्तै ठानेको स्मरण गर्दै मन्त्री पौडेलले अब योजना अगाडि बढेको बताउनु भयो ।

Comments