काठमाडौं/१७ साउन
सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् ।
नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रबारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।
सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सुनीलवल्लभ पन्तले कोरोनाको दाबी भुक्तानी हाललाई स्थगन गरिएको बताउनु भयो ।
सरकारले प्रतिबद्धता गरेअनुसार रकम निकासी नगर्दा दाबी भुक्तानी स्थगन गरिएको उहाँको भनाइ छ ।
यस सम्बन्धमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूको सीईओका हस्ताक्षरसहितको एक पत्र बीमा समितिमा पनि बुझाइएको उहाँले बताउनु भयो । सरकारले रकम निकासी नगर्दा कोरोना बीमाको दाबी भुक्तानी स्थगन गर्नुपरेको भनेर खुलाई समितिलाई पत्राचार गरिएको छ ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले उक्त रकम निकासी हुने प्रक्रियामा रहेको बताउनु भयो । अबको एक/डेढ हप्तामा नै यस विषयमा निर्णय हुने उहाँको भनाइ छ ।
‘बीमा कम्पनीहरूले दाबी स्थगन गरेको जानकारी प्राप्त भएको छ । असार मसान्तको क्लोजिङले यसमा केही ढिलाइ भएको हो,’ उहाँले भन्नुभयो, ‘अबको केही समयमै यस विषयमा निर्णय हुन्छ ।’
तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो । सोहीअनुसार कोरोना बीमामा साढे ३ अर्ब माथिको दाबी भुक्तानी सरकारले नै बेहोर्ने गरी मापदण्ड बनाइयो । कोरोना बीमाको दाबी भुक्तानी साढे ३ अर्व नाघेको महिनौं भइसक्यो । तर, आर्थिक वर्ष सकिँदा पनि कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयबाट कत्ति पनि रकम निकासा भएको छ ।
कोरोना बीमा बीमाक्षेत्रको दायित्व जम्मा दायित्व ३ अर्ब ५० करोड रुपियाँ रहेको छ । यसमा बीमा समितिले १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपियाँ गरेर त्यसबराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ । तर, बीमाक्षेत्र त्यो बराबर मात्र नभएर थप १ अर्बभन्दा बढी भुक्तानी पनि दिइसकेका छन् ।
साढे ३ अर्बभन्दा माथिको दाबी सरकारले नै बेहोर्ने गर्ने अर्थ मन्त्रालय, बीमा समिति र बीमा कम्पनीहरू बीच सहमति भएको थियो । तर, अर्थ मन्त्रालयले यसका लागि आवश्यक बजेट नदिँदा गत वैशाखदेखि नै यसको दाबी रोकिएको थियो ।
कोरोना बीमामा कुल कति दाबी पर्यो भनेर तथ्यांक तयार भइसकेको छैन । असार मसान्तसम्म ११ अर्बभन्दा बढी दाबी परेको बीमा कम्पनीहरूको अनुमान छ । त्यसअनुसार सरकारले कोरोना बीमाको लागि साढे ७ अर्ब रुपियाँभन्दा बढी रकम निकासा गर्नुपर्ने देखिन्छ ।
विभिन्न कारणले सुरुवाती समयमा कोरोना बीमाको दाबी भुक्तानी ढिलाइ भएको थियो । यसको चर्काे विरोध भएपछि गत कात्तिकमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ हप्ताभित्र नै कोरोनाको दाबी भुक्तानी दिन निर्देशन दिनुभयो । तर, उहाँ आफै अर्थमन्त्रीमा हुँदासम्म (असार २८ गतेसम्म) पनि उक्त रकम निकासा गर्ने विषयमा निर्णय गर्न नसकेको कम्पनीहरूलाई उदृत गर्दै आजको आर्थिक अभियानले खबर लेखेको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments