Byroad News

Loading...

निजी क्षेत्रलाई खोप आयात अनुमति


निजी क्षेत्रलाई खोप आयात अनुमति

काठमाडौं/१७ साउन
सरकारले खोपलाई प्राथमिकता दिन निजी क्षेत्रलाई आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा रहने गरी आयात गर्न अनुमति दिएको छ ।

खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न अनुमति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइएको हो । यस सम्बन्धमा कुन कुन निजी कम्पनीले कति मात्राको खोप आयात गर्न अनुमति दिइयो भन्नेबारे जानकारी दिइएको छैन ।

कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकारले विकल्पको रूपमा निजी क्षेत्रलाई खरिद अनुमति दिएको जनाएको छ । हालसम्म मित्रराष्ट्र भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त एक लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी मित्रराष्ट्र चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट मित्रराष्ट्र चीनको सिनोफार्म कम्पनीसँंग गरिएको खोप खरिदको सम्झौताअनुसार यही २४ असार तथा ७, ८, १० र १५ साउनमा प्राप्त ४० लाख डोज गरी कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भएको मन्त्रालयले जनाएको छ । 

मित्रराष्ट्र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन (जेएन्डजे) १५ लाख ३४ हजार ८५० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

थप खोपको सन्दर्भमा मित्रराष्ट्र चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । साथै कोभ्याक्स सुविधाबाट मित्रराष्ट्र जापान सरकारले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल एक करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने आकलन गरी कोभिङ–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने सरकारले जनाएको छ । 

यसैगरी कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको सरकारी भनाइ छ । गाभी कोभ्याक्सबाट नि:शुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि क्रमश: प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीहरूको पहुँचमा पुग्ने सरकारी अनुमान रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

Comments

KATHMANDU WEATHER