रौतहट/१८ साउन
रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा विवाद हुँदा दोहोरो झडप भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका—४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको हो । झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजेश यादव र पूर्वअध्यक्ष देवनारायणका नाति पारस भण्डारीको समूहले आफ्नो पक्षको अध्यक्ष हुनु पर्ने र माधवनारायण—४ का वडाअध्यक्ष रामदेनी मुखियाले पनि आफ्नो समूहबाट अध्यक्षको तयारी गरेपछि दुई समूह बीच झडप भएको हो ।
विद्यालयको अध्यक्ष बन्न विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए । विद्यार्थी भर्नाको सम्बन्धमा कुरा नमिलेपछि विवाद शुरु भएको बताइएको छ ।
बाँसका भाटासहित दुई पक्ष झडपमा उत्रिएपछि १३ जना घाइते भएका हुन् । घटनामा संलग्न दुवै पक्षका एक/एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments