काठमाडौं/१८ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएर प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहनु भएका डा. गौतमलाई मन्त्रालयले १० जेठमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।
स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी पाउनु अघि उहाँ प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक हुनुहुन्थ्यो । हाल प्रसूतिको निर्देशकमा डा. संगिता मिश्र हुनुहुन्छ । डा. गौतमलाई प्रसूतिमा के जिम्मेवारी दिएको छ भन्ने यकिन भइसकेको छैन ।
डा. गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारी बनाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेले बताउनु भयो । डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्थ्यो ।
आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उहाँले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै अस्पतालका कर्मचारीले डा. गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए ।
डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा करोडौंको सामान उपलब्ध गराउन अनैतिक रुपमा टेण्डर दिलाएको आरोप समेत कर्मचारीहरुले लगाइरहेका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने सार्क क्षयरोग केन्द्रमा डा. रिता जोशीलाई लगिएको छ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments