Byroad News

Loading...

साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने


साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने

काठमाडौं/२१ साउन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताउनु भयो । उहाँले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिनु भयो । 

म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उहाँले आग्रह गर्नु भयो । 

सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान शुरु गर्न थालिएको बताउनु भयो । उहाँले मास्कलाई सही तयारीले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो । 

स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उहाँका अनुसार स्वास्थ्य स्वयंसेविकामार्फत गाउँ टोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ । सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ । अहिले दैनिक सङ्क्रमित बढेपछि जोखिम पनि बढेको छ ।

Comments

KATHMANDU WEATHER