Byroad News

Loading...

अस्पताल परिसरमा फार्मेसीका बिचौलियाको बिगबिगी, विराटनगरमा १० जना पक्राउ


अस्पताल परिसरमा फार्मेसीका बिचौलियाको बिगबिगी, विराटनगरमा १० जना पक्राउ

विराटनगर/९ भदौ
अस्पतालको गेटैमा परिचालित हुने फार्मेसीका ‘बिचौलिया’ ले बिरामी ठग्न अनेकौं उपाय लगाउने गरेको भेटिएको छ। विराटनगरका ठूला अस्पतालमा फार्मेसीहरूले बिचौलिया परिचालन गरेको पाइएको हो।

अस्पतालमा चिकित्सकलाई देखाएर फर्कने बिरामीलाई सुलभ दरमा औषधी दिलाइदिने, सबैभन्दा राम्रो ब्राण्डको औषधी दिनेजस्ता प्रलोभन देखाउँदै उनीहरूले बिरामी ठग्ने गरेको पाइएको हो।  

मोरङ प्रहरीले मंगलबार राति १० जना बिचौलियालाई पक्राउ गरेपछि फार्मेसीहरूको यो धन्दा बाहिर आएको हो। विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल परिसरबाट प्रहरीले  १० जना बिचौलियालाई पक्राउ गरेको हो।

नोबेलबाट ७ र कोशी अस्पतालबाट ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। नोबेलबाट पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, युनी कियर फार्मेसीका  रोशन गुप्ता, दाजुभाइ फार्मेसीका अमित यादव, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, एपी फार्मेसीका फिरोज रोय र अलि फार्मेसीका विश्वास मण्डल  छन्।

कोशी अस्पताल परिसरबाट श्रीराम चौधरी, सूर्यनारायण यादव र मोहमद जली पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू कुन फार्मेसीका हुन् भन्ने खुलेको छैन।

ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा उनीहरूले बिरामी ठग्ने गरेको प्रहरी भनाइ छ। पक्राउ परेकाहरूले अस्पतालअगाडि बसेर विभिन्न बहाना बनाउने आफू अनुकूलको अस्पताल पुर्‍याउने र औषधी किन्न पनि आफूले कमिसन पाउने फार्मेसीमै लैजाने गरेको देखिएको एसपी जिसीले जानकारी दिए।

प्रहरीले यसअघि पनि अस्पताल परिसरमा बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर-८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई पक्राउ गरेको थियो। पक्राउ परेका राय र साह विराटनगरस्थित न्युरो हस्पिटलअगाडिको ज्ञानु फार्मेसीमा काम गर्ने हुन्। उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ।

नोबल अगाडिका फार्मेसीले औषधी पसलमा काम गर्नेहरूलाई के आरोपमा पक्राउ परेको प्रहरीले जानकारी नदिएको भन्दै विरोध जनाएका छन्। उनीहरू नोबेलबाहिर फार्मेसी र मोरङ प्रहरी कार्यालय बाहिर भेला भएर फार्मेसीमा काम गर्नेहरूलाई के कारणले पक्राउ गरेको प्रष्ट पार्न माग राखेका छन्।

Comments

KATHMANDU WEATHER