Byroad News

Loading...

निर्माण सामग्रीको मूल्य बढ्यो, सिमेन्टको मूल्य प्रतिबोरा १२५ रुपियाँसम्म बढ्ने


निर्माण सामग्रीको मूल्य बढ्यो, सिमेन्टको मूल्य प्रतिबोरा १२५ रुपियाँसम्म बढ्ने

काठमाडौं/१२ कात्तिक
विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । 

कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि स्वत: बढ्नेछ । अहिले विश्वभर नै कोइला संकट चुलिएको छ । जारी संकटको चपेटा सबैभन्दा बढी चीन र भारतले खेपिरहेका छन् । ती देशमा ऊर्जा संकट पनि चुलिँदैछ । कोरोना महामारीका कारण खासगरी उत्पादक मुलुक अष्ट्रेलिया र दक्षिण अफ्रिकामा कोइला उत्खनन् नहुँदा यो समस्या आइपरेको हो ।

उत्पादक राष्ट्रले नै महामारीमा गरिएको लकडाउनका कारण कोइला उत्खनन् नगरेपछि विश्वभर परेको प्रभाव छिमेकी मुलुक हुँदै नेपालसम्म फैलिएको हो । अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरम अभावसँगै मूल्य दोब्बरभन्दा बढीले बढेको छ । गत वर्षसम्म प्रतिकिलो १४ रुपियाँमा पाइने कोइला अहिले ३४ रुपियाँ पुगेको छ । 

बढीले मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपालका निर्माण उद्योगमा परेको छ । सिमेन्ट, डण्डी र इँटा उद्योगले कोइलालाई मुख्य ऊर्जाको रूपमा प्रयोग गर्छन् । ‘यतिखेर कोइला बढेकै मूल्यमा आयात गर्नुपर्ने अवस्था छ र बढेको मूल्यमा आयात गरिएको कोइला प्रयोग गरेर उत्पादन गरिएको वस्तुको लागत स्वत: बढिरहेको छ,’ सिमेन्ट उद्योग उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा कोइला अभावसँगै मूल्य बढेपछि नेपालमा सिमेन्टको मूल्य प्रतिबोरा २० देखि ३५ रुपियाँसम्म बढेको छ । सिमेन्टको मूल्यवृद्धि यत्तिमै नरोकिने अध्यक्ष थापाले बताउनु भयो । अबको केही समयमा सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँदेखि १२५ रुपियाँसम्म बढ्ने थापाको अनुमान छ । 

उहाँले भन्नुभयो, ‘अहिले मूल्य अलिअलि बढेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा बढेको कोइलाको मूल्यको प्रभाव अझै देखिइसकेको छैन ।’

सिमेन्टको कच्चा पदार्थको रूपमा प्रयोग हुने क्लिंकर बनाउन २० प्रतिशत कोइला प्रयोग हुन्छ । सोहीकारण कोइलाको मूल्य बढ्दा सबैभन्दा बढी प्रभाव सिमेन्ट उद्योगमा पर्छ । नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले कोइलाको मूल्य बढ्दा इँटाको मूल्य पनि बढ्ने बताउनु भयो । उहाँले कोइलाको मूल्यवृद्धिले इँटाको मूल्य प्रतिगोटा ३० देखि ५० प्रतिशतसम्म बढ्ने बताउनु भयो । अहिले नेपालमा इँटाको मूल्य प्रतिगोटा १० देखि १५ रुपियाँसम्म पर्छ ।

‘भारतसँग सीमा जोडिएका इँटा उद्योगको लागत ३० प्रतिशतसम्म बढ्ने देखिन्छ । भारतसँग सीमा जोडिएका जिल्लामा ढुवानी लागत सस्तो पर्ने भएकाले ३० प्रतिशतमात्र बढ्ने देखिएको हो,’ उहाँले भन्नुभयो, ‘पहाडी जिल्लामा इँटाको मूल्य प्रतिगोटा ५० प्रतिशतसम्म बढ्न सक्छ ।’

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नयाँ इँटा पोल्नुपर्ने समय कात्तिक अन्तिमबाट सरेर पुस पहिलो साता पुगेको छ । चन्दले बेमौसमी वर्षाले इँटा पोल्ने समय पर धकेल्दा तत्काल मूल्य नबढ्ने देखिएपनि नयाँ इँटा पोल्दा बढेको लागत जोडिने बताउनु भयो ।

सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले कोइला संकटको प्रभाव नेपालमा पनि देखिइसकेको बताउनु भयो । उहाँले कोइलाको मूल्य बढ्दा डण्डीको कच्चा पदार्थ विलेटको मूल्य प्रतिमेट्रिकटन ५६० डलरबाट बढेर ६२० अमेरिकी डलर पुगेको बताउनु भयो । यस्तै, कोइलाको मूल्य बढ्नुअघि प्रति मेट्रिकटन ४४० डलरमा पाइने गरेकोमा अहिले ४८० डलर पुगेको छ ।

यसो हुँदा नेपाली बजारमा डण्डीको भाउ प्रतिकिलो ६ रुपियाँले बढेको न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘खासमा डण्डीको मूल्य प्रतिकिलो १० रुपियाँ बढ्नुपर्ने हो । तर, सरकारले स्पन्ज आइरनमा दिएको छुटले किलोमा ४ रुपियाँ घटेपछि ६ रुपियाँ मात्रै बढेको हो ।’ यसअघि प्रतिकिलो ८४ रुपियाँमा पाइने डण्डी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेपछि ९० रुपियाँ (भ्याट बाहेक) पुगेको छ । यसमा प्रतिकिलो ११ रुपियाँ भ्याट र २ रुपियाँ ढुवानी भाडा जोड्दा प्रतिकिलो १०५ रुपियाँ पर्न आउने न्यौपानेको भनाइ छ ।

कोइलाको भाउ बढ्नु अगाडि प्रतिमेट्रिकटन ५६० अमेरिकी डलर रहेको विलेटको मूल्य ६२० डलर पुगेको छ । यस्तै, कोइलाको भाउ बढ्नु अगाडि ४४० डलर रहेको स्पन्ज आइरनको मूल्य अहिले ४८० पुगेको डलर पुगेको छ । यही कारणले डण्डीको मूल्य बढेको उद्योगीको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालले विदेशबाट २५ अर्ब ७८ करोड ६० लाख रुपियाँ बराबरको १ अर्ब ९१ करोड १५ लाख किलो कोइला आयात गरेको थियो । नेपालले विश्वका ८ वटा मुलुकबाट कोइला आयात गर्दै आएको छ । तीमध्ये चीन र रसियाबाट थोरै मात्रामा कोइला आयात हुन्छ ।

भन्सार विभागका अनुसार गत वर्ष अमेरिकाबाट २ अर्ब ८६ करोड रुपियाँको, अष्ट्रेलियाबाट ५ अर्ब ९ करोडको, भारतबाट ४ अर्ब ४० करोडको, इण्डोनेशियाबाट २ अर्ब २९ करोडको र दक्षिण अफ्रिकाबाट १० अर्ब रुपियाँको कोइला आयात भएको थियो ।

यसैगरी, चालू आर्थिक वर्ष २०७८/०७९ को तीन महिना अवधिमा ४ अर्ब ५७ करोड रुपिायँ बराबरको २९ करोड ७८ लाख किलो कोइला नेपाल भित्र्याइएको छ । जसमध्ये अष्ट्रेलियाबाट सबैभन्दा बढी १ अर्ब ९८ करोड रुपियाँको कोइला आयात भएको छ । यसपछि भारतबाट १ अर्ब ४५ करोड रुपियाँको र दक्षिण अफ्रिकाबाट १ अर्ब १३ करोड रुपियाँको कोइला भित्रिएको भन्सार विभागले जनाएको छ । 

Comments

KATHMANDU WEATHER