Byroad News

Loading...

दामन भ्युटावर दृश्यावलोकनका लागि आइतबारदेखि खुल्ने


दामन भ्युटावर दृश्यावलोकनका लागि आइतबारदेखि खुल्ने

थाहानगर/१० पुस
थाहानगरको दामनमा रहेको शीतल टावर भोलि आइतबारदेखि दृश्यावलोकनका लागि खुल्ने भएको छ । भ्युटावरमा नयाँ टेलिस्कोप राखिएपछि पर्यटकका लागि खोल्न लागिएको नगरपालिकाले जनाएको छ ।

टेलिस्कोपबाट दृश्यावलोकनका लागि त्यहाँ प्रवेश गर्ने पर्यटकले टिकटसङ्गै क्वाइन प्राप्त गर्नेछन् जुन क्वाइनको प्रयोगले ३ मिनेटसम्म दृश्यावलोकन गर्न सक्नेछन् । १०० मेगापिक्चल गुणस्तरको टेलिस्कोप नगरपालिकाले १८ लाख रुपैयाँँको लागतमा खरिद गरिएको हो ।

पाँच वर्षका लागि सञ्चालनको ठेक्का लिएको होटल प्रकाश प्रालिले कोरोना महामारीका कारण भ्युटावर सञ्चालन गर्न सम्झौता भङ्ग गरेपछि टावर पूर्ण रुपमा बन्द थियो । 

त्रिभुवन राजपथको निर्माणसङ्गै बनेको भ्युटावर २०६४ सम्म पर्यटन मन्त्रालय मातहतमा सञ्चालनमा थियो । त्यतिबेला दृश्यावलोकनका लागि दुई वटा टेलिस्कोप रहेकोमा तत्कालीन जनयुद्ध ताका एउटा राम्रो टेलिस्कोप माओबादीले लगेको र त्यहाँ भएको टेलिस्कोप गुणस्तरीय नहुदा पर्यटकहरुले गुनासो गर्दै आएका थिए ।

२०६४ पछि पर्यटन मन्त्रालयले तत्कालीन जिल्ला विकास समितिलाई स्वामित्व हस्तान्तरण गरेपछि त्यतिबेला पनि भ्युटावर बेवारिसे जस्तै बनेको थियो । भ्युटावर सञ्चालनका लागि जिविसले पछि ठेक्का प्रणाली मार्फत व्यवसायिक फर्महरुलाई सुम्पदै आएकोमा थाहा नगरपालिका घोषणा पश्चात नगरको स्वामित्वमा हस्तान्तरण गरिएको थियो ।

नगरपालिकाले यस अघि सो टावरलाई दृश्यावलोकनका लागि मात्र टेन्डर आव्हान गरिएकोमा कसैबाट टेन्डर नपरेपछि स्थानीय व्यवस्थापनमा टावर खुल्ला गर्न लागिएको हो । भ्युटावरबाट संसारका उच्च हिमशृङ्खलाहरुमध्ये ८ वटा बढीको दृश्यावलोकन गर्न सकिन्छ ।

Comments

KATHMANDU WEATHER