Byroad News

Loading...

एमालेका वडाध्यक्षले बिद्यालयलाई सहयोग गरे ५ वर्षको सम्पूर्ण पारिश्रमिक


एमालेका वडाध्यक्षले बिद्यालयलाई सहयोग गरे ५ वर्षको सम्पूर्ण पारिश्रमिक

भक्तपुर/२२ माघ
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष किरण थापामगरले आफु निर्वाचित भएदेखि पाँच बर्षे कार्यकालमा पाएको सम्पूर्ण सेवा सुविधा तथा पारिश्रमिक सहयोगको रुपमा प्रदान गर्नुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा ‘जगत भैरव प्रतिष्ठान’ नामक संस्था स्थापना गरी उक्त प्रतिष्ठानमार्फत यहाँको गणेश माविलाई १५ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । 

वडाध्यक्ष थापामगरले आफ्नो पाँच बर्षे कार्यकालमा आफुले पाएको सम्पूर्ण सेवा सुविधा तथा पारिश्रमिकमा थपेर १५ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेत, बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, सुर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेतलगायतको उपस्थिति थियो ।

हिजो विद्यालय भवनको शिलान्यास कार्यक्रममा वडाध्यक्ष थापामगरले ‘जगत भैरव प्रतिष्ठान’ मार्फत गणेश माध्यमिक विद्यालयको भौतिक सुधार गर्दै लग्ने र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्ने तथा आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने पनि बताउनु भएको छ । उहाँले ‘जगत भैरव प्रतिष्ठान’ मार्फत १ करोड रुपैयाकाे अक्षयकोष स्थापना गर्ने लक्ष्य लिनु भएको छ । 

 जगत भैरव प्रतिष्ठानलाई वडा अध्यक्ष थापामगरले १५ लाख रुपैयाँ, निक भुजिकिक हाउजिङ प्रालिले १० लाख रुपैयाँ, झ्यामो घ्याङ हाउजिङ प्रालिबाट १० लाख रुपैयाँ, सांसद महेश बस्नेतद्वारा एक महिनाको आफ्नो सम्पूर्ण पारिश्रमिक (एक लाख)  र प्रतिष्ठानका अध्यक्ष द्वारिकाप्रसाद सत्यालबाट १ लाख रुपैयाँ गरेर कुल ३७ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्राप्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Comments

KATHMANDU WEATHER