Byroad News

Loading...

बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै


बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

काठमाडौं/२८ माघ
बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि छानबिन सुरु गर्ने भएको छ ।

नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको सङ्ख्या ठुलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो ।

गत माघ २० मा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।

बीमा समितिका एक अधिकारीले दिएको जानकारी अनुसार कम्तीमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ ।

‘हामीले यस विषयमा गम्भीर छानबिन गर्दैछौं, पहिले पनि यस्ता विषयहरु धेरै उठान हुने गरेका थिएँ’ ती अधिकारीले भने, ‘आफूले हासिल गरेको योग्यताभन्दा बढीको शैक्षिक प्रमाण पत्र पेस गरिए कडा कारबाही हुन्छ, व्यक्ति मात्रै होइन कम्पनीका विषयमा पनि हामीले एक्सन लिन्छौँ ।’

उनका अनुसार धेरै जसो भारतका विश्वविद्यालयहरुमा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गर्नेहरुमाथि बीमा समितिले निगरानी बढाउने छ । विदेशी विश्व विद्यालयमा अध्ययन पुरा गरे पनि त्यसलाई त्रिभुवन विश्व विद्यालयमा पेस गरेर समकक्षताको प्रमाण पत्र लिनु पर्ने हुन्छ । समकक्षकताको प्रमाण पत्र पेस नगरे विदेशमा अध्ययन पुरा गरेको सर्टिफिकेटले वैधानिकता पाउँदै छ । उनी भन्छन्, ‘धेरै विदेशका विभिन्न विश्व विद्यालयमा अध्ययन गरेको प्रमाण पत्र पेस गरिएको सूचना छ, तर अहिले नै पुष्टि भने भइसकेको छैन ।’

यो आशङ्कापछि बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरेर शैक्षिक प्रमाण पत्रबारे जानकारी गराउन भनेको छ । शङ्का लागेका कर्मचारीहरुको सक्कलै प्रमाण पत्र समेत हेर्ने समितिको तयारी छ । समितिको नजरमा अहिले सानाभन्दा पनि उच्च तहका कर्मचारीहरु शङ्काको घेरामा छन् ।

‘जागिर खाने बेलामा भन्दा पनि बढुवाको समयमा यस्तो प्रमाण पत्र पेस गरेको हुन सक्छ भन्ने हाम्रो अनुमान हो, यस्तो बदमासी साना कर्मचारीहरु भन्दा पनि ठुला कर्मचारीहरुबाट धेरै हुनसक्ने सम्भावना छ’ उनले भने ।

Comments

KATHMANDU WEATHER