Byroad News

Loading...

हप्ता दिनमै खाने तेलमा ६० रुपैयाँसम्म मूल्य बढ्यो, अनुगमन गरेर कार्वाही गर्न माग


हप्ता दिनमै खाने तेलमा ६० रुपैयाँसम्म मूल्य बढ्यो, अनुगमन गरेर कार्वाही गर्न माग

काठमाडौं/२० फागुन
पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै बढेको छ। विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको हो। गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन्।

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख ६१ हजारको कच्चा तेल आयात भएको छ।

रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख ३६ हजार र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको तेल आयात भएको छ।

रसिया युक्रेन युद्धसँगै अब बजारमा खाने तेलको मूल्य बढ्ने भन्ने र अभाव हुने भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गराएको उपभोक्ताको आरोप छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको ७ महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ। जसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको छ।

त्यस्तै, ब्राजिलबाट ६ अर्बभन्दा बढी र ५ अर्बभन्दा बढीको पाराग्वेबाट आयात भएको छ। यस्तै युक्रनेबाट ७९ करोडको र इजिप्ट तथा उरुग्वेबाट पनि सामान्य आयात भएको छ।

दुई साता अगाडि दुई हजारदेखि २२ सय रुपैयाँ रहेको प्रतिकार्टुन तेलको मूल्य अहिले २५ देखि २७ सय रुपैयाँ पुगेको खुद्रा व्यापारी बताउँछन्। तर, उद्योगी भने त्यति धेरै मूल्य नबढेको दाबी गर्छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने उद्योगीसँग छलफल गर्दा मूल्य वृद्धि नभएको जानकारी उद्योगीले गराएको बताएको छ। विभागले पनि अनुगमान गरिरहेको र तेलको मूल्य बढाएर बेच्ने व्यापारीलाई कारबाही गर्ने विभागका प्रवक्ता हरि पंगेनीले जानकारी दिए।

यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले खानेतेलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँसम्म वृद्धि भएको भन्दै आवश्यक कारबाहीको माग गरेको छ।

Comments

KATHMANDU WEATHER