Byroad News

Loading...

एमालेले कसैसंग तालमेल नगर्ने भट्टराईको भनाई


एमालेले कसैसंग तालमेल नगर्ने भट्टराईको भनाई

हेटौंडा/१२ चैत्र
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा एमालेले कुनै पनि दलसंग तालमेल नगर्ने बताएका छन् । 

आज शनिबार हेटौंडामा प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले चैत ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले आउने स्थानीय निर्वाचनमा कुनै पनि दलसंग तालमेल नगर्ने निर्णय गरेको बताए । 

उनले भने, ‘नेकपा एमालले केन्द्रीय तबरबाट घोषित रुपमा कुनैपनि राजनीतिक शक्तिसंग चुनावी तालमेलको घोषणा गर्दैन । नेकपा एमाले आफ्नो सामर्थ्यमा, आफ्नो बलबुतामा, आफ्नो क्षमतामा यो चुनावको सामना गर्छ । चुनावी प्रतिस्पर्दामा जान्छ।’

उनले बैठकले सम्पूर्ण केन्द्रीय सदस्यलाई निर्वाचनको तयारीको लागि जिल्लामा खटाएको र सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरेको बताए । उनले बैशाखको पहिलो सातासम्म स्थानीय निर्वाचनको उम्मेद्वार टुङ्गो लगाइने बताउँदै यसअघिको निर्वाचनमा एमालेबाट विजयी भएका र जनताको अपेक्षा अनुसार काम गरेका नै निर्वाचनको उम्मेदवार हुने बताए ।

उनले एमालेले सरकारमा हुँदा गरेको कामहरुले जनताहरुले देशको नेतृत्व एमालेले गर्नुपर्ने बुझाई रहेको समेत बताए । उनले स्थानीय निर्वाचनमा २० हजार भन्दा बढी उम्मेदवार एमालेबाट विजयी हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले हालको गठबन्धन सरकार असफल भएको समेत बताए । उनले एमाले सरकारबाट बाहिरिएपछिको आठ महिनामा नेपाली कांग्रेस–नेकपा माओवपादी र एकिकृत समाजवादी नेतृत्वको गठबन्धन सरकारले देशको अर्थतन्त्र नकरात्मक ढङ्गले अघि बढेको टिप्पणी गरे ।

‘विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा कम भएको छ, मूल्यवृद्धि इतिहासमै सबैभन्दा बढी भएको छ । विकास खर्च हेर्ने हो भने सबैभन्दा कम भएको छ । झन्डै १४/१५ प्रतिशत भन्दा आजसम्म विकास खर्च भएको छैन । पुँजीगत खर्च भएको छैन । व्यापार घाटा डरलाग्दो ढंगले बढ्दै गएको छ । सचिव भट्टराईले भने, 'हाम्रो निर्यात घट्दै गएको छ । आयत बढ्दै गएको छ । पेट्रोलियम पर्दाथदेखि विद्युतको मूल्यवृद्धिको कारणले मानिसहरुको दैनिक जीवन चौपट भएको छ । आज पेट्रोलियम पर्दाथको मूल्य इतिहासमै सबैभन्दा माथिल्लो अङ्कमा पुगेको छ । र यो अझै बढ्ने सम्भावना देखिदैछ, सरकारले त्यसका निम्ति कुनै वैकल्पिक व्यवस्थापन गरेको देखिदैन ।'

Comments

KATHMANDU WEATHER