थाहानगर/१९ चैत्र
नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय (इन्द्रसरोवर) मा संकलित पानी प्रतिदिन ५० देखि ६० सेन्टिमिटरको दरले घट्न थालेको छ ।
पिकअप र सुक्खायाममा मात्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्मित कुलेखानी जलविद्युत् अन्तर्गतको तीन वटै आयोजना यति बेला चौबीसै घण्टा सञ्चालनमा आउन थालेको कुलेखानी प्रथमका प्रमुख धीरेन्द्र चौधरीले बताए । चौधरीका अनुसार रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादनमा ह्रास आएपछि कुलेखानी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनु परेको हो ।
गत आर्थिक वर्षको यही अवधिमा कुलेखानी जलाशयमा एक हजार ५ सय १८ मिटर पानीको सतह थियो । अहिले जलाशयमा एक हजार ५ सय १४ मिटर मात्र पानीको सतह छ । यो वर्ष कुलखानी जलाशय पूरा भरिएको थियो । पानी भरिएर १० दिनसम्म ओभरफ्लो भएको थियो । १ हजार ५ सय ३० मिटरसम्म पानी संकलन गरेर राख्न सकिने क्षमता जलाशयको छ ।
२०७२ सालको भूकम्पअघि क्षमताभन्दा बढी करिब ५० सेन्टिमिटर पानी संकलन गर्न ड्याममा बालुवा प्याक गरेका बोरा राख्ने गरिन्थ्यो । अहिले बोरा राखेर जलाशयको क्षमताभन्दा बढी पानी संकलन गर्न छाडिएको छ । मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । अहिले जलाधार क्षेत्रमा वर्षा भएको छैन । जलाधार क्षेत्रका खोला पनि सुकेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न मिल्छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीनवटै आयोजनाले बिजुली उत्पादन गर्छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments