Byroad News

Loading...

थाहामा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई 'महाभारत'


थाहामा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई 'महाभारत'

थाहानगर/२१ चैत्र
आशन्न स्थानीय निर्वाचन नजिकिएसंगै थाहा नगरमा प्रमुख दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन 'महाभारत' भएको छ ।

गत स्थानीय निर्वाचनमा माओबादी-काङ्ग्रेस गठबन्धनसंग प्रमुख र उपप्रमुखमा पराजित नेकपा एमालेले वडाका उम्मेदवार टुङ्गो लगाउन चैत्र २४ गतेसम्मको समय सीमा तोकेर सर्कुलर गरेको छ । त्यसैगरी नगर प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न जिल्ला कमिटीले चैत्र २५ गतेसम्मको समय सीमा दिएको छ । नगर उपप्रमुखमा धेरै जनाको आकांक्षा चर्चा नभएपनि प्रमुखमा कम्तिमा ५ जनाको उम्मेदवारी चर्चा छ । 

अघिल्लो पटक नगर प्रमुखमा पराजित बिष्णु प्रसाद ढकाल, जिल्ला सदस्यहरु सुरेन्द्रमान प्रधान, शशीधर सुवेदी, नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, प्रदेश कमिटी सदस्य बरिना बलले प्रमुखमा इच्छा राखेर आन्तरिक लबिङ थालेका छन् । यद्यपि नगरबाट सर्वसम्मत उम्मेदवार छनौट हुन नसकी माथिल्लो कमिटीमा नाम सिफारिस गर्नु परेमा बिष्णु प्रसाद ढकालले टिकट पाउने करिव निश्चित रहेको एमाले स्रोतले जनाएको छ ।

वडा अध्यक्षहरुका लागि पनि प्राय: वडाहरुमा धेरै जनाको आकांक्षा रहने संकेत देखिएको एमाले स्रोतले जनाएको छ । केही  वडाहरु बाहेक सबै वडाहरुमा सर्वसम्मतको संकेत नदेखिएपछि माथिल्लो कमिटीमा नाम सिफारिस गरि पठाउने तयारीमा नेतृत्व देखिएको छ ।

सत्ता साझेदार दलहरुसंग गठबन्धनमा फसेको नेकपा माओबादी केन्द्रलाई पनि उम्मेदवार छनौटमा महाभारत नै देखिएको छ । काङ्ग्रेससंगको गठबन्धनमा रहेर अघिल्लो पटक नगर प्रमुख जितेको माओबादीमा यस पटक पनि पुरानै उम्मेदवार लवशेर विष्टकै सम्भावना अड्कल गरेका छन् । पार्टीभित्र इच्छा व्यक्त नगरेपनि अन्तत विष्ट नै अन्तिम उम्मेदवार हुने माओबादी स्रोतको आंकलन छ । तर, पार्टीभित्र बिष्णु विष्ट, ज्योती रायमाझी, बिष्णुहरि ढकालले इच्छा देखाएका छन् । हालै सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरको सदस्यमा नियुक्त भएका अरुण रायमाझी पनि नगर प्रमुखमा टिकट पाउने भए सो पदबाट राजीनामा दिएर चुनाव लड्न तयार रहेको इच्छा व्यक्त गरेका छन् । 

दलीय गठबन्धनको स्वरुप कस्तो रहने भन्ने निश्चित नभएपनि माओबादी केन्द्रले पनि वडा तहहरुमा सम्भावित उम्मेदवारको सुची तयार गर्न जुटेको छ । आंकलन भन्दा धेरै आकांक्षीहरुको संख्या बढ्न थालेपछि माओबादीले अघिल्लो निर्वाचनमा निर्वाचित वडा अध्यक्षहरुलाई नै दोहोर्याउने सम्भावना बढेको छ । वडा नम्बर १, ३, ७, ८ मा करिव करिव पुरानै अनुहारलाई नै निरन्तरता दिने सम्भावनाको चर्चा छ । वडा नम्बर ४ र ९ मा भने नयाँ अनुहार अघि सार्ने सम्भावना बढी देखिएको माओबादी स्रोतको दाबी छ । अन्य वडाहरुमा पनि नयाँ अनुहार अघि सार्ने योजना भएपनि आकांक्षीहरुको संख्या धेरै भएपछि 'सहमति'को प्रयास अनुरुप पुरानै उम्मेदवार दोहोर्याउने सम्भावना बढेको हो । गठबन्धनमा  राष्ट्रिय जनमोर्चा पनि परेपछि माओबादीलाई तनाव थपिएको छ । अघिल्लो निर्वाचनमा वडा नम्बर ३ मा वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मण विष्टले ४३३ मत र उपप्रमुखले २३९ मत पाएको जनमोर्चाले यो गठबन्धनमा कम्तिमा अध्यक्ष वा २ वडा सदस्यको आशा राखेको जनमोर्चा स्रोतले बताएको छ ।  त्यसो त गठबन्धनको साझेदार नेपाली काङ्ग्रेसले वडा नम्बर ५, ६, १०, १२ को माग राखेपछि माओबादी नेतृत्व तनावमा परेको छ । यस अघि प्रमुख र उपप्रमुखमा मात्र गठबन्धन हुँदा समस्या परेको थिएन । 

नेपाली काङ्ग्रेसले नगर प्रमुख सहित कम्तिमा ६ वटा वडा माग गरेपनि सबै वडाहरुमा उम्मेदवार छनौटको काम सुरु गरेको छ । काङ्ग्रेसभित्र संस्थापन र इतर समुहबीच उम्मेदवारी दाबी परेको छ । नगर प्रमुखमा हालका उपप्रमुख खड्ग गोपाली, भरत गोपाली, भरत लामा र इश्वरनाथ पौडेलले इच्छा देखाएको काङ्ग्रेस स्रोतले जनाएको छ । यद्यपि, खड्ग गोपाली र भरत लामाको सम्भावना बढी देखिएको छ तर गठबन्धन मै जाने निश्चित भए यो पटक उपप्रमुखमा महिला नै अघि सार्नु पर्ने काङ्ग्रेसभित्र माग छ तर उपप्रमुखका लागि आकांक्षीहरुको चर्चा भैसकेको छैन । 

नेकपा एकीकृत समाजबादी भने उपप्रमुखसहित वडा नम्बर १, ५, ८ र ११ माग गरे पनि उपप्रमुख मै चित्त बुझाउने भित्री तयारीमा छ । उपप्रमुख पाउने भए हाल ११ नम्बर वडा अध्यक्ष किरणमान बलको सम्भावना बलियो छ । बलको स्वास्थ्य मन्त्री बिरोध खतिवडा र मुख्यमन्त्री राजेन्द्र पाण्डेसङ्ग सिधा सम्पर्क रहेकोले नेतृत्वको छनौटमा उनी नै पर्ने आंकलन छ तर नगर अध्यक्ष सानुकाजी गोपाली, जिल्ला सदस्य डम्बर लामा, प्रदेश सदस्य कल्याण बिक्रम घलानको पनि चर्चा रहे पनि घलान पेशाले शिक्षक भएकाले तत्काल पेशाबाट राजीनामा दिने पक्षमा छैनन् । गोपाली र लामालाई वडा पाउने भएमा त्यताको जिम्मेवारी दिने योजनामा एस देखिएको छ तर गठबन्धन नै हुदा पनि एसले कुनै पनि वडा पाउने सम्भावना नरहेको माओबादी स्रोतले जनाएको छ । त्यसो त एसले हालसम्म वडामा सम्भावित उम्मेदवारहरु पनि खोजेका छैनन्  ।

राप्रपा (लिङ्देल)ले भने नगर प्रमुख र उपप्रमुख सहित केही वडामा उम्मेदवारी दिने तयारीमा रहेको बताएको छ । राप्रपा नेपाल (कमल थापा)ले भने अझैसम्म उम्मेदवारको विषयमा तयारी थालेको छैन । 

Comments

KATHMANDU WEATHER