थाहानगर/१० वैशाख
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि प्रमुख दलहरुबीच उमेदवार छनौटको कामहरु भइरहेको छ । केही अन्य दलहरु तथा स्वतन्त्र व्यक्तिहरुले पनि उमेदवारी दिने तयारी गरिरहेका छन् ।
तर, उमेदवारी दिन के के गर्नु पर्छ भन्ने जानकारी नहुन सक्छ । उमेदवार बन्नका लागि सबैभन्दा पहिले वैशाख ३० गतेभित्रमा २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्दछ । वडाको कुनै पनि पदका उमेदवार बन्न सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेको हुनु पर्दछ । प्रमुख उपप्रमुख तथा पालिका अध्यक्ष उपाध्यक्षका लागि सम्बन्धित पालिकाभित्र मतदाता नामावलीमा नाम रहेको हुनु पर्दछ ।
दलित महिला सदस्यका लागि सम्बन्धित वडा तथा नगरपालिकाबाट दलित समुदायको नागरिक भएको प्रमाणित गरेको सिफारिस आवश्यक पर्दछ । वर्तमान जनप्रतिनिधिको हकमा राजीनामा दिइसकेको र कुनै पनि सरकारी दायित्व तिर्न बुझाउन बाकी नरहेको हुनु पर्दछ ।
कुनै पनि सरकारी पेश्की बाकी नरहेको, नेपालको कानुनले अयोग्य ठहर नगरेको, सरकारी सुविधाहरु प्राप्त नगरेको हुनु पर्ने प्रावधान छ ।
उमेदवारी दर्ता गर्नका लागि मतदाता नामावलीमा नाम भएका एक जना व्यक्तिले प्रस्तावना फाराम भरेर अर्को एक जनाले समर्थक फाराम भरे पछि उमेदवारले मनोनयन फाराम भर्नु पर्दछ । सो फाराममा उमेदवारको विवरणसहित घर जग्गाको कित्ता नम्बरसहितको निर्वाचन आयोगले तोकेको ढाँचामा फाराम भरेर माथि उल्लेखित विवरण प्रमाणित गर्ने कागजातहरुको प्रतिलिपिसहित उमेदवार, प्रस्तावक र समर्थक वा उमेदवारले तोकेका प्रतिनिधि सशरीर उपस्थित हुनु पर्दछ । अब उमेदवारले आयोगले तोकेको ढाँचामा मनोनयन फाराम, प्रस्तावकले भरेको फाराम, समर्थकले भरेको फाराम, स्वघोषणा पत्र, दलले उमेदवार सिफारिस गरेको पत्र, प्रस्तावक, समर्थक, उमेदवारको नागरिकताको बुझिने प्रतिलिपि, मतदाता नामावलीमा नाम रहेको निस्सा प्रतिलिपि, राजीनामा पत्र र बुझबुझारथ पत्रको प्रतिलिपिसहित उमेदवार दर्ताका लागि वडा सदस्यमा ५ सय, वडा अध्यक्षका लागि १ हजार र पालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षका लागि १ हजार ५ सय रुपियाँ धरौटी रकम बैक वा नगदै जम्मा गरेको भौचरसहित निर्वाचन आयोगले तोकेको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन सक्नेछ ।
त्यसरी वैशाख ११ र १२ गते उमेदवारी दर्ता गरेपछि अधिकृतको कार्यालयले वैशाख १३ गते उमेदवारको नाम प्रकाशित गर्नेछ । प्रकाशित नामावलीमा वैशाख १३ गते नै आयोगले तोकेको ढाँचामा उमेदवार माथिको दाबी विरोधको फाराम भरेर उमेदवार अयोग्यताको उजुरी दिन सक्नेछ ।
त्यसरी परेको दाबी विरोधमाथि छानविन गरि कार्यालयले वैशाख १६ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र वैशाख १७ गते चुनाव चिन्ह प्रदान गर्नेछ ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments