Byroad News

Loading...

'आयोगले गठबन्धन चिन्दैन, जुन चिह्नबाट जित्यो त्यही दलको हुन्छ'


'आयोगले गठबन्धन चिन्दैन, जुन चिह्नबाट जित्यो त्यही दलको हुन्छ'

काठमाडौं/१० वैशाख
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताएका छन् । शनिबार पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचित भएपछि पनि सोही दलको पदाधिकारी हुने बताएका हुन् ।

उनले कानुनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने बताएका हुन् । भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने पनि थपलियाले बताए ।

'हाम्रो निर्वाचन कानुनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरो आयोगले जान्ने कुरा पनि भएन । यसकारण हामी के बुझ्दछौं भने यदि कुनै पनि राजनीतिक दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रका आधारमा उम्मेदवारी दर्ता हुन्छ । उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ भन्ने विषय आयोगको होइन,' उनले भने, 'त्यसकारण जुन चिह्नबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ त्यही दलको हो भन्ने निधो हुन्छ । यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिह्नबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुपर्‍यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।'

Comments

KATHMANDU WEATHER