Byroad News

Loading...

विमानस्थलमा खादा, माला तथा परिचय खुल्ने पोशाक निषेध


विमानस्थलमा खादा, माला तथा परिचय खुल्ने पोशाक निषेध

काठमाडौं/२६ असार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो । 

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयले जनाएको छ । अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने भनेको हो । यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयको भनाइ छ।

त्यस्तै परिचय झल्किने पोसाकमा समेत प्रतिबन्ध लगाइएको छ । कुनै विशेष समूह, सङ्गठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको हो । यस्तो पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो।

कार्यालयले यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेको छ । नियमको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ।

Comments

KATHMANDU WEATHER