
थाहानगर/८ भदौ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भएको छ ।
आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले नगरको चौतर्फी विकासका लागि बागमती सरकार तयार रहेको बताउदै थाहा नगरको विकासको मुख्य आधार पर्यटन भएको बताउनु भयो । मुख्यमन्त्री बानियाँले थाहामा धार्मिक पर्यटनको विकास गर्न आफू तयार रहेको बताउदै चालू आर्थिक वर्ष मै एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भयो ।
मुख्यमन्त्री बानियाँ थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको हो ।
कार्यक्रमको अवसरमा बागमती प्रदेश कै दोस्रो पूर्ण संस्थागत सुत्केरी पालिका बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले थाहा नगरको विकासका निमित्त महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हुँदै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरि रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमको रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रमको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक समारोहका बीच थाहा नगरपालिकालाई औपचारिक रुपमा पूर्ण संस्थागत सुत्केरी पालिकाको उपाधि प्रदान गर्नु भएको छ ।
थाहामा हाल सबै गर्भवती महिला स्वास्थ्य संस्थामार्फत सुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । यससँगै मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झरेको छ ।
थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् । गत आ.व.मा मात्र विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना महिला सुरक्षित प्रसूति सेवाबाट लाभान्वित भएका थिए । हाल थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थामार्फत नियमित रुपमा मातृ–शिशु स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।
सभा थाहा नगरका प्रमुख विष्णु विष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
-
-
1 month ago
"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"
-
4 years ago
आजको तरकारी बजार भाउ
Comments