Byroad News

Loading...

नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै


नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै

काठमाडौं/४ असार
अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्‍ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष पूरा गरेको छ । सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।

सुरुमा पृथ्वीको सतहदेखि ४ सय २० किलोमिटरमाथि घुमिरहेको नेपालको झन्डा अंकित स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ झर्दै गइरहेको छ । बिहीबार नेपाली स्याटेलाइट पृथ्वीदेखि ३ सय ३० किलोमिटर माथि घुमिरहेको थियो ।
‘बार्डस्–३ मिसनअन्तर्गत छाडिएको यो क्युब स्याटको आयु ६ महिना भनिएको थियो,’ स्याटेलाइटका निर्माणकर्ता एवं नास्टका इन्जिनियर हरिराम श्रेष्ठले भन्नुभयो, ‘स्याटेलाइटले अन्तरिक्षमा २ वर्ष पूरा गर्‍यो ।’

अन्तरिक्षमा नेपाली स्याटेलाइटले ७ सय ३० दिन बिताइसकेको छ । त्यसले पृथ्वीलाई ११ हजार ४ सय पटक फन्को लगाएको श्रेष्ठले बताउनु भयो । स्याटेलाइट अबको अढाई महिनाभित्रमा ध्वस्त हुँदै छ । ‘हाम्रो प्रेडिक्सनअनुसार नेपाली स्याटेलाइटले अब ११ सय ४३ पटक मात्रै पृथ्वीलाई फन्को लगाउन पाउँछ,’ जापानको क्युटेक विश्वविद्यालयमा स्याटेलाइटसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनु भएका श्रेष्ठलाई उदृत गर्दै कान्तिपुरले लेखेको छ, ‘अबको ७१ दिन अर्थात् अगस्ट २४ मा नेपाली स्याटेलाइट जलेर खरानी हुन्छ ।’

स्याटेलाइटको आयु सकिँदै जाँदा क्षमता पनि घट्ने गर्छ । पृथ्वीको गुरुत्व बलको प्रभावले स्याटेलाइट विस्तारै पृथ्वीतिर झर्न थालेको उहाँले बताउनु भयो । ‘पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण स्याटेलाइट जलेर पूरै खरानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘तीव्र गतिमा घुमिरहेको स्याटेलाइटलाई पृथ्वीको गुरुत्व बलले आफूतिर तान्दा हावासँग धेरै घर्षण हुन्छ, जसका कारण स्याटेलाइट जलेर खरानी नै हुन्छ ।’

स्याटेलाइट मिसन शतप्रतिशत सफल भएको अर्का निर्माणकर्ता आभास मास्केले बताउनु भयो । उहाँले कान्तिपुरसँग कुरा गर्दै भन्नुभयो, ‘नेपालसँगै प्रक्षेपण गरिएका ३ वटै स्याटेलाइट अहिले पनि राम्रोसँग चलिरहेका छन् । यसले नेपाललाई स्पेस आउटरिचका लागि राम्रो अनुभव पनि दिलायो ।’

नेपाली स्याटेलाइटको मुख्य उपलब्धि भनेको क्यामेरा मिसन सफल हुनु रह्यो । ‘नेपाली स्याट–१ ले ६० वटा तस्बिर खिचेर पठायो । धेरै तस्बिर खगोल क्षेत्रमा प्रयोग भएका छन्,’ श्रेष्ठले भन्नुभयो । स्याटेलाइटको लोरा मिसन, टेक्नोलोजी डेमोन्स्ट्रेसन मिसन, स्याटेलाइटको गतिसम्बन्धी अध्ययन र अन्य प्राविधिक मिसन सफल भए । स्याटेलाइट मिसन सफल भए पनि त्यसले नेपालको अन्तरिक्ष विज्ञान क्षेत्रलाई धेरै योगदान दिन नसकेको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराई बताउनु हुन्छ । ‘अन्तरिक्ष विज्ञानसम्बन्धी प्रचारप्रसार तथा सरकारलाई यस क्षेत्रमा दीर्घकालीन लगानीका लागि प्रोत्साहन गर्न राम्रो टुलका रूपमा यो मिसन प्रयोग हुन सक्थ्यो । नेपाली युवालाई आशा देखाएको थियो,’ उहाँले भन्नुभयो, ‘तर मिसनलाई गलत ढंगले व्याख्या गर्न खोजियो । जसका कारण यसले सोचेजस्तो धेरै योगदान दिन सकेन ।’

नास्टका प्रविधि संकायका प्रमुख रवीन्द्र ढकालले स्याटेलाइट कम्युनिकेसनमा क्षमता विकास भएको बताउनु भयो । भविष्यमा नेपालमै स्याटेलाइट बनाउन सकिने हौसला थपिएको उहाँको भनाइ छ । ग्राउन्ड स्टेसन निर्माण र आवश्यक पूर्वाधार निर्माणमा केन्द्रित भए पनि आउने दिनमा अझ धेरै काम गर्न सकिने उहाँले बताउनु भयो । पर्याप्त जनशक्ति नहुँदा सोचेअनुसारको काम भने गर्न नसकेको उहाँले स्विकार गर्नु भयो ।

यसैबीच नास्टको ग्राउन्ड स्टेसनमा एलिभेसन मोटर बिग्रिएको छ । नेपाली स्याटेलाइट प्रक्षेपणको महिनौंपछि नास्टले स्टेसन निर्माण गरेर सञ्चालन गरेको थियो । फरक मोड्युलको रेडियो परेपछि स्टेसन निर्माणमा ढिलाइ भएको थियो । उक्त समस्या हल गरेपछि केही समय स्टेसनबाट तथ्यांक लिइएको थियो तर जनशक्ति अभाव भएपछि स्टेसनबाट नियमित काम हुन छाडेको छ ।

Comments

KATHMANDU WEATHER