काठमाडौं/१४ साउन
गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संशोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्नु पर्ने व्यवस्था ल्याएसँगै ग्रेडको आधारमा सिमेन्ट उत्पादन सुरु भएको छ । यो व्यवस्था सँगै नेपालमा हुँदै आएको सिमेन्टको आयातमा कमि आउने देखिएको छ।
नेपालमा उत्पादित सिमेन्टको गुणस्तर मापन गर्ने आधार नभएकाले ठुला आयोजनाहरूमा विदेशी सिमेन्टको आयत गर्नुपर्ने बाध्यात्मक अवस्था विभागको यो कामबाट अन्त्य भएको छ। यसअघि ठुला आयोजनाको ठेक्का प्रक्रियामा नै सिमेन्टको ग्रेड तोक्ने तर नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो हुँदाहुँदै पनि ग्रेड निर्धारण नभएकाले उपयोग गर्न नसकिने अवस्था थियो। यस्तो स्थितिमा सिमेन्ट उद्योग धारासाही हुने भन्दै व्यवसायीको गुनासो बढ्न थालेपछि ग्रेड निर्धारणमा चासो बढेको हो।
सिमेन्टको ग्रेडिङ नहुँदा नेपालमा जुन सुकै गुणस्तरको सिमेन्ट उत्पादन भएको भए पनि त्यसको ग्रेड भने ३३ मात्रै कायम हुने व्यवस्था रहेको थियो। हाल शिवम् सिमेन्ट, युनाइटेड सिमेन्ट लगायतले गुणस्तर तथा नापतौल विभागबाट सरकारले तोकेको ग्रेडमा सिमेन्ट उत्पादन गर्न अनुमति लिइसकेका छन्। अन्य उद्योग पनि ४३ र ५३ ग्रेडको उत्पादनको अनुमति लिनेक्रममा रहेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु तिमल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय सिमेन्ट क्षेत्रले गुणस्तरमा ठुलो फड्को मारेको दाबी गर्दै तिमल्सिनाले भन्नुभयो, “पछिल्लो पाँच सात वर्षको सिमेन्ट क्षेत्रको विकासक्रमलाई हेर्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उत्पादन गर्न सक्ने प्रविधि, क्षमता र गुणस्तरमा एकदमै विकास भएको छ ।”
के हो ग्रेड ?
महानिर्देशक तिमल्सिनाका अनुसार सिमेन्ट निर्धारण गर्दा दुई वटा मापदण्डलाई हेर्नुपर्ने हुन्छ। एउटा रासायनिक गुणस्तर हो। सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अनुसार उत्पादित सिमेन्टको गुणस्तर कायम हुन्छ। त्यसो त पहिले कच्चा पदार्थ नै उत्पादन योग्य गुणस्तरको छ वा छैन भन्ने हेरिन्छ। त्यसमा सिमेन्टको कच्चापदार्थमा हुनुपर्ने भनी तोकिएको भन्दा पदार्थहरूको प्रयोग नहोस् भन्ने कुरामा ध्यान दिइन्छ। यसको जाँच गर्दा यहि कुरालाई इन्डिकेट गरिएको हुन्छ ।
उहाँका अनुसार अर्को भनेको उपभोक्ताको दृष्टिकोणबाट भौतिक रुपमा नै हेर्ने हो । यसमा सिमेन्टको मजबुदी र कडापन नै मुख्य कुरा हो। जसलाई 'कन्प्रेन्स स्ट्रेन्थ' भन्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, "हामी जुन ४५ र ५३ ग्रेड भन्छौ । यो भनेको २८ दिनमा त्यसले प्राप्त गर्ने कम्प्रेस्टिक स्ट्रेन्थ हो । ४३ मेगा पास्कल बराबरको दबाब थेग्न सक्ने गरी न्यूनतम २८ दिनमा त्यो सिमेन्टले निर्माणलाई तयार गर्छ भने त्यसलाई ४३ ग्रेडको सिमेन्ट भनिन्छ। त्यसै गरी २८ दिनमा ५३ मेगा पास्कल बराबरको फोर्स धान्न सक्यो भने त्यसलाई हामी ५३ ग्रेडको सिमेन्ट भन्छौ । जुन चाहिँ विगतको ३३ ग्रेडको तुलनामा झन्डै १.७, १.८ गुणाले बढी हो।
सामान्य भाषामा भन्ने हो भने सिमेन्टको ग्रेड भनेको उक्त सिमेन्टको भार वहन क्षमता हो। कति अवधिमा कति भार बहन गर्न सक्छ भन्ने मापन नै ग्रेड हो। यसैले सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ नै ग्रेड हो। यसरी भार बहन गर्न सक्ने बल र त्यो प्राप्त गर्न लाग्ने समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ। ५३ ग्रेड भनेको ५३ एमएम भार प्रति वर्ग सेन्टिमिटर बहन गर्न सक्ने भन्ने बुझिन्छ।
पछिल्लो पाँच सात वर्षको सिमेन्ट क्षेत्रको विकासक्रमलाई हेर्दा उद्योगहरूको प्रविधि, क्षमता, र गुणस्तरमा एकदमै विकास भएको छ । विगतको अनुभवको आधार हेर्ने हो भने नेपाली सिमेन्ट उद्योगहरूमा धेरै विश्वासिला र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन गर्न सक्ने प्रविधि भित्रिएको छ। ती उद्योगले गुणस्तरीय उत्पादनहरू बजारमा ल्याएका छन् । फलस्वरूप नेपाली उद्योगहरूले ४३, ५३ ग्रेडका उत्पादनहरू बजारमा ल्याउन सुरु पनि गरिसकेका छन्।
निर्धारणमा सहजता
सिमेन्टको ग्रेडिङसँगै त्यसको मूल्य निर्धारणमा समेत अब सहजता थपिएको छ। अब व्यवसायीले गुणस्तरको आधारमा मूल्य निर्धारण समेत गर्न सक्ने भएका छन्। तिमल्सिना यसबारे भन्नुहुन्छ, "उद्योगीहरूले जुन ग्रेडको ल्याउने हो त्यो उत्पादन गर्दा हुन्छ। तर, जे जस्तो भए पनि ग्रेडिङ सिस्टममा चाही जानु पर्यो । उद्योगीहरूले उपभोक्तालाई ग्रेडमा सुनिश्चित गर्न सो ग्रेडको इजाजत प्राप्त गर्नु पर्ने हुन्छ ।"
यसरी इजाजत लिँदा पहिले ग्रेड निर्धारण गर्ने प्रक्रिया पुरा गर्नु पर्छ। उद्योगीहरूको विशेष गरी कच्चा पदार्थ, त्यसको उत्खनन र निर्माण प्रक्रिया अनि तयारी उत्पादनको गुणस्तर नियन्त्रण गर्ने काम उद्योगमा नै गर्न सक्ने गरी पूर्वाधार तयार गर्नु पर्छ। गुणस्तर नियन्त्रणको सुनिश्चितता गर्न विभागबाट त्यसको निरीक्षण गर्ने गरिन्छ । त्यही अनुसारका नमुनाहरू विभागले माग गरेर परीक्षण पनि गर्ने गरेको छ ।
न्यूनतम आवश्यकता पूरा गर्ने मात्र होइन यस्ता संरचनाले नियमित रूपमा उद्योगभित्रै गुणस्तर जाँच गर्ने र गुणस्तर सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसैको आधारमा यदि कुनै सिमेन्टले मापदण्ड पूरा गर्यो भने सो आधारमा इजाजत प्रदान गर्ने गरेको तिमल्सिनाले बताउनु भयो। उहाँका अनुसार सही प्रक्रियाद्वारा कच्चा पदार्थको उचित तरिकाले प्रयोग भयो भने ४३, ५३ ग्रेडको सिमेन्ट बनाउन सकिन्छ । यसका लागि कुनै त्यस्तो छुट्टै किसिमको प्रविधि चाहिने भन्ने हुँदैन ।
अहिले पनि बजारमा कतिपय उत्पादनहरू न्यूनतम ३३ ग्रेडका छन् । त्यस्तै ३४, ३५ मात्र मात्र रहेका पनि छन्। हाल ३३ कै मात्र मान्यता पाएका तर वास्तवमा ४२,४५ र ५० ग्रेडका पनि छन्। अहिलेसम्म ग्रेड नछुटाउँदा यी सबै एउटै वर्गमा परेका थिए ।
उपभोक्तालाई पनि लाभ
अब गुणस्तरका आधारमा फरक फरक वर्गीकरण गर्दा उपभोक्ताहरूले अथवा इन्जिनियरले डिजाइन गर्ने बेलामा आफ्नो आवश्यकता पूरा गर्ने सिमेन्ट कुन हो भनेर किटान गर्न सक्छन्। निर्माण गर्दा कति मात्रामा सिमेन्ट लगाउनु पर्छ भन्ने कुरा निश्चित गर्न पनि सहजता थपिएको छ। निमार्णको गुणस्तर बृदीगर्न पनि यसले मद्दत गर्छ ।
कुन किसिमका आयोजनाहरूमा जुन किसिमको कङक्रिट संरचनाहरू चाहिन्छ, त्यो किसिमको सिमेन्ट छनौट गर्न अब सहज भएको छ। आफूलाई चाहिएको सिमेन्ट त्यो हो वा होइन भन्ने थाहा पाउन पहिले प्रयोग गरेर हेर्नु पर्ने हुन्थ्यो भने अहिले भने त्यो अवस्था हटेको हो । अहिले बजारमा ग्रेडको आधारमा सिमेन्ट आउने गरेको छ त्यही अनुसार उपभोक्ताहरू पनि प्रयोग गरिरहेका छन् । अहिले सिमेन्टको बोरामा उत्पादन मिति लेख्न थालिएको छ । सिमेन्टलाई प्रयोग गरिसक्नुपर्ने अवधि तीन महिना हो। यसले म्याद गुज्रिएका सिमेन्टको प्रयोगबाट उपभोक्तालाई जोगाएको छ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments